सिरहामा ४० लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा
सिरहा, ३ जेठ – सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्र नम्बर ७ गण मुख्यालय सिरहाबाट सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे ट्रक नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स १ ख ५३५ नम्बरको टाटा ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । ट्रकबाट विभिन्न प्रकारका सौन्दर्य सामग्री, मञ्जन, ओखरलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान तथा ट्रकको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको बताइएको छ । नियन्त्रणमा लिइएको सामान र सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडर पठाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

