राष्ट्रिय स्वतन्त्र पार्टीको आज देशभर वडा अधिवेशन

काठमाडौं,  ३ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टीले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका करिब एक हजार ५०० वडामा अधिवेशन गर्न लागिएको पार्टीले जनाएको छ । पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म करिब तीन हजार वडामा तदर्थ समिति गठन भइसकेको छ । तीमध्ये करिब ५० प्रतिशत वडाको अधिवेशन निर्वाचनअघि र पछि सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

तदर्थ समिति गठन भए पनि अधिवेशन हुन बाँकी रहेका वडामा शनिबार अधिवेशन आयोजना गरिएको हो । पार्टीले वडा अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको जनाएको छ । जेठ ३ गतेपछि तदर्थ समिति गठन हुने वडाका लागि भने जेठ १६ गते अधिवेशन गर्ने मिति तोकिएको छ ।  पालिका अधिवेशन पनि दुई चरणमा सञ्चालन गरिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ ९ र १७ गते पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीका अनुसार कुनै पालिकामा कम्तीमा ३० प्रतिशत वडाको अधिवेशन सम्पन्न भए तथा जिल्लाको हकमा ३० प्रतिशत पालिकाको अधिवेशन सकिएपछि माथिल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाइनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ र २४ गते जिल्ला अधिवेशन तथा जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ । पार्टीको प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने भएको छ । पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै दिन महाधिवेशनको मिति तय गरिएको जनाइएको छ ।

Facebook Comments Box