देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, ३१ वैशाख – देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ ।

कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै अन्य हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ । त्यसैगरी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत हिमाली भूभागमा सामान्य बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments Box