देवघाटधाममा अतिक्रमित टहरा हटाइँदै, सात दिनभित्र खाली गर्न निर्देशन
तनहुँ, २६ वैशाख – देवघाटधाम अन्तर्गत सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा सात दिनभित्र हटाउन निर्देशन दिइएको छ। देवघाट क्षेत्र विकास समिति ले त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल ‘वेणी’ क्षेत्रमा निर्माण गरिएका संरचना वैशाख ३० गतेभित्र हटाउन आग्रह गरेको हो।
पूर्णबहादुर कुँवर का अनुसार वेणी सङ्गम क्षेत्रको स्नानघाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरणका लागि यो कदम चालिएको हो। वडा कार्यालयले बुधबार सूचना जारी गर्दै अतिक्रमित टहरा हटाउन क्षेत्र विकास समितिलाई अनुरोध गरेको थियो।
स्थानीय राजनीतिक दल र सरोकारवालाबाट पनि सङ्गम क्षेत्रमा जथाभावी निर्माण गरिएका संरचना हटाउन माग हुँदै आएको प्रवक्ता कुँवरले बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाको समन्वयमा जनगुनासो र धार्मिक क्षेत्रको संरक्षणलाई ध्यानमा राखेर निर्णय गरिएको हो।
स्नानघाट संरक्षणका लागि बनाइएको पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न सङ्घसंस्था, जोगी, भिक्षु, पण्डित तथा व्यवसायीले अस्थायी टहरा निर्माण गरेका थिए। क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनी ले तोकिएको समयभित्र टहरा नहटाए कानुनबमोजिम समिति आफैँले हटाउने जानकारी दिनुभयो।
गाउँपालिकाले पछिल्लो समय देवघाट क्षेत्रमा बढ्दो अव्यवस्थित बसोबास र सार्वजनिक जग्गा अतिक्रमणले धार्मिक तथा पर्यटकीय महत्वमा असर परेको जनाएको छ। यसैबीच, राम मन्दिर गुठी को नाममा रहेको १४९ रोपनी जग्गामध्ये करिब ३० रोपनी अतिक्रमणमा परेको बताइएको छ। उक्त क्षेत्रमा ३७ घरधुरीका १०६ जना बसोबास गर्दै आएका छन्।
प्रवक्ता कुँवरका अनुसार गुठीको जग्गामा लालपुर्जा दिन नमिल्ने भएकाले अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरिएको हो। वास्तविक भूमिहीन सुकुम्बासीलाई भने सङ्घीय सरकारले कानुनअनुसार जग्गा व्यवस्थापन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो। उहाँले घरायसी कागजपत्र बनाएर गुठीको जग्गा किनबेच नगर्न पनि आग्रह गर्नुभएको छ। “हुकुमबासीले होइन, वास्तविक सुकुम्बासीले मात्रै कानुनअनुसार जग्गा पाउने सुनिश्चितता गरिएको छ,” उहाँले भन्नुभयो।

