बेलायतको स्थानीय निर्वाचनमा रिफर्म यूकेको उदय, नेपाली मूलका उम्मेदवारको पनि उल्लेख्य सफलता

लन्डन, २६ वैशाख – युनाइटेड किङ्गडम अन्तर्गत इंग्ल्याण्ड, स्कटल्याण्डवेल्स मा सम्पन्न स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणामले बेलायती राजनीतिमा नयाँ तरंग ल्याएको छ। १३६ स्थानीय काउन्सिलका पाँच हजार १४ सिटका लागि भएको निर्वाचनमा रिफर्म यूके ले उल्लेखनीय सफलता हासिल गरेको छ। नाइजेल फराज नेतृत्वको उक्त दक्षिणपन्थी दलले शुक्रबार मध्यरातसम्म १,४२८ सिट जित्दै अग्रता कायम गरेको छ।

त्यसैगरी, सत्तारुढ लेबर पार्टी ९५५ सिटमा सीमित भएको छ भने लिबरल डेमोक्र्याट ले ८३२, कन्जरभेटिभ पार्टी ले ७७३ र ग्रीन पार्टी ले ५०८ सिट जितेका छन्। निर्वाचन परिणामले प्रधानमन्त्री किअर स्टारमर नेतृत्वको लेबर पार्टीलाई ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ। लेबरले इंग्ल्याण्डमा एक हजारभन्दा बढी काउन्सिलर पद गुमाएको छ भने वेल्समा २७ वर्षदेखिको प्रभावसमेत कमजोर बनेको छ।

प्रधानमन्त्री स्टारमरले हारको जिम्मेवारी स्वीकार गर्दै आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्ने बताएका छन्। उता, रिफर्म यूकेका नेता नाइजेल फराजले परिणामलाई “बेलायतको मतदान ढाँचामा ऐतिहासिक परिवर्तन” को संकेत बताएका छन्। विशेषगरी मिडल्याण्ड्स, उत्तरपूर्व र उत्तरपश्चिम इंग्ल्याण्डमा रिफर्म यूकेले लेबरको परम्परागत प्रभाव क्षेत्र भत्काएको उल्लेख गरिएको छ।

नेपाली मूलका उम्मेदवारको सफलता

यसपटकको निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूको उपस्थिति पनि उल्लेखनीय देखिएको छ। जीत रानाभाट ग्रीनवीच बरो को प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट १,६१० मतसहित काउन्सिलर निर्वाचित भएका छन्। उनी यसअघि सोही बरोका मेयरसमेत भइसकेका थिए।

त्यसैगरी, उनकी पत्नी गौमाया गुरुङ रानाभाट पनि एबिउड वार्डबाट पहिलोपटक निर्वाचित भएकी छन्। दुवै लेबर पार्टी का उम्मेदवार हुन्। जीव नारायण बेल्वासे रश्मोर बरो अन्तर्गत म्यानर पार्क वार्डबाट दोस्रोपटक निर्वाचित भएका छन् भने उत्तरबहादुर गुरुङ वेलिङटन वार्डबाट पहिलोपटक विजयी भएका छन्।

त्यस्तै, प्रतिक्षा गुरुङ रेडिङ बरो बाट निर्वाचित हुने पहिलो नेपाली मूलकी काउन्सिलर बनेकी छन्। लक्ष्य गुरुङ बार्नेट बरो को एड्जवेयरबरी वार्डबाट तेस्रोपटक निर्वाचित भएका छन् भने कमल गुरुङ पनि बन्र्टओक वार्डबाट पुनः निर्वाचित भएका छन्। यद्यपि केही नेपाली मूलका उम्मेदवार भने पराजित भएका छन्। तीमध्ये विशाल गुरुङ, शिवजी श्रेष्ठ, नरेन्द्र कंडेल, टम अधिकारी, इन्द्रहाङ लिम्बूज्ञानप्रसाद गुरुङ रहेका छन्।

Facebook Comments Box