आज संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं , २४ वैशाख – प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक आज साँझ ५ बजे बस्ने तय भएको हो । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह को सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नु रहेको छ ।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण गत चैत १८ गते अवकाश भएपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छिन् । संवैधानिक व्यवस्थाअनुसार कायममुकायम प्रधानन्यायाधीश परिषद् बैठकमा सहभागी हुन पाउँदिनन् ।
बैठकमा सभामुख डोल प्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल, कानुनमन्त्री सोबिता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी हुनेछन् । राष्ट्रपति रामचन्द्र पौडेल ले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो ।
हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, समावेशी आयोग, महिला आयोग, मुस्लिम आयोग र थारू आयोगलगायतका विभिन्न संवैधानिक निकायमा पद रिक्त छन् ।
संविधानको धारा १२९(३) अनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीशको रूपमा काम गरेको व्यक्ति प्रधानन्यायाधीश बन्न योग्य हुने व्यवस्था छ । परम्पराअनुसार वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिँदै आएको भए पनि यसपटक वैकल्पिक नामबारे चर्चा चलिरहेका कारण न्यायिक वृत्तमा चासो बढेको छ ।

