ट्रेड युनियनका कार्यालय बन्द गर्न सरकारको परिपत्र
काठमाडौं, २३ वैशाख – सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गरी कर्मचारीलाई दरबन्दीअनुसारको जिम्मेवारीमा खटाउन निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मंगलबार सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरूलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाबाट जारी पत्रमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ लागू भएसँगै निजामती सेवा ऐन २०४९ को दफा ५३ खारेज भएको उल्लेख गरिएको छ। उक्त दफामा ट्रेड युनियनसम्बन्धी व्यवस्था रहेको थियो।
मन्त्रालयले ट्रेड युनियनका नाममा सञ्चालनमा रहेका कार्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ। साथै, ट्रेड युनियन तथा त्यसमा आबद्ध कर्मचारीले प्रयोग गर्दै आएका कार्यालय भवन, कार्यकक्ष, सवारी साधनलगायत सरकारी सम्पत्ति फिर्ता लिन पनि भनिएको छ।
यस्तै, ट्रेड युनियनका विभिन्न तहमा आबद्ध कर्मचारीहरूलाई उनीहरूको दरबन्दीअनुसारको जिम्मेवारीमा फर्काएर काममा खटाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका अनुसार यो व्यवस्था २०८३ वैशाख २२ गतेको सचिवस्तरीय निर्णयअनुसार कार्यान्वयन गर्न परिपत्र जारी गरिएको हो।

