रुपन्देहीमा क्यासिनोबाट १९ जना नेपाली पक्राउ

काठमाडौं, २३ वैशाख – रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोबाट जुवा खेलिरहेको अवस्थामा १९ जना नेपाली पक्राउ परेका छन्। प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटेल गौतम बुद्ध इन्टरनेशनल भित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोबाट गएराति करिब ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयजिल्ला प्रहरी कार्यालय रुपन्देही को संयुक्त टोलीले सञ्चालन गरेको अप्रेसनमा क्यासिनो म्यानेजरसहित जुवा खेलाउने ४ जना र खेल्ने १५ जना गरी १९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीका अनुसार पक्राउ पर्नेहरूमा रुपन्देहीका अभय कुमार गुप्ता, सुशान्त अधिकारी, सन्जय शाक्य, निक्षेन्द नेपालसहित काठमाडौं, गुल्मी, ललितपुर र पर्साका विभिन्न व्यक्तिहरू रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, विभिन्न कम्पनीका १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box