मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजबारे छलफल हुँदै

काठमाडौं, २१ वैशाख – मन्त्रिपरिषद् को बैठक आज बिहान साढे १० बजे बस्दैछ । बैठकमा मन्त्रालयहरू मर्ज र खारेज गर्ने खाकाबारे महत्वपूर्ण छलफल हुने बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर नयाँ संरचना बनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रस्तावअनुसार चार मन्त्रालय खारेज हुने र छ मन्त्रालयको नाम परिवर्तन गरिनेछ । यस सम्बन्धी खाका तयार गर्न सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले संघमा मन्त्रालय संख्या १७ वटामा सीमित गर्ने सुझाव दिएको थियो । सोही आधारमा आजको बैठकमा प्रस्ताव पेश हुने बताइएको छ ।

प्रस्तावित प्रमुख परिवर्तनहरू

  • युवा तथा खेलकुद मन्त्रालय खारेज गरी खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर “शिक्षा तथा खेलकुद मन्त्रालय” बनाउने
  • युवासम्बन्धी क्षेत्रलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य र सामाजिक सुरक्षासँग एकीकृत गरी “लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय” बनाउने
  • खानेपानी तथा सरसफाइ मन्त्रालय विभाजन गरी सरसफाइलाई स्वास्थ्यमा र खानेपानीलाई भौतिक पूर्वाधारसँग गाभ्ने
  • शहरी विकास मन्त्रालय लाई भौतिक पूर्वाधारमा समेट्दै “एकीकृत भौतिक पूर्वाधार मन्त्रालय” बनाउने
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने
  • केही क्षेत्र (गरिबी, सूचना–प्रविधि, विज्ञान–प्रविधि) सिधै प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउने तयारी

सरकारले आफ्नो प्रशासनिक सुधार कार्यक्रमअनुसार मन्त्रालय संख्या घटाएर कार्यसम्पादनलाई छरितो बनाउने लक्ष्य राखेको जनाएको छ । आजको बैठकले उक्त प्रस्तावमा अन्तिम निर्णयतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box