वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा जुटिन् अरुणा केसी
रामेछाप, १६ वैशाख – मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन सुरु गरेकी छन् । चार वर्ष बेलायत र ११ वर्ष दुबई तथा कतार मा रोजगारी गरेपछि अरूको काममा सीमित रहनुभन्दा आफ्नै देशमा केही गर्ने सोचले उनी गाउँ फर्किएकी हुन् ।
“अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ,” केसीले भनिन् । उनले करिब २० लाख रुपैयाँ लगानी गरेर आधुनिक खोर निर्माण गरी बाख्रापालन सुरु गरेकी छन् । बाख्रापालनसँगै कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती विस्तार गर्ने योजना समेत उनले बनाएकी छन् ।
विसं २०८१ मा गाउँ फर्किएर व्यवसाय सुरु गरेकी केसीले अहिलेसम्म कुनै सरकारी निकायबाट आर्थिक सहयोग नपाएको गुनासो गरिन् । तर मन्थली नगरपालिका पशु स्वास्थ्य शाखा बाट प्राविधिक सल्लाह भने पाइरहेको उनले बताइन् ।उनका बुबा चित्र केसी छोरीको निर्णयप्रति गर्व व्यक्त गर्छन् ।
“वैदेशिक रोजगारी छाडेर गाउँमै कृषि–पशुपालनमा लागेकामा खुसी लागेको छ,” उनले भने । गाउँमा कामको रेखदेख गर्ने जनशक्ति अभाव चुनौती भए पनि अरुणा केसीले हिम्मत नहारी व्यवसायलाई अघि बढाइरहेकी छन् । “सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन,” उनले भनिन् ।

