कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, सहमतिको प्रयास जारी
काठमाडौं, ११ वैशाख – नेपाली कांग्रेस ले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हालका लागि स्थगित गरेको छ। निर्वाचन तालिका प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले अन्तिम समयमा निर्वाचन रोकेको हो।
निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार नयाँ मिति भने अझै तोकिएको छैन। दलको नेता सहमतिमा चयन गर्न उपसभापति विश्वप्रकाश शर्मा को नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।
समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल सदस्य रहेका छन्।
संसदीय दलको नेता चयनमा सभापति गगनकुमार थापा र उपसभापति शर्मा बीच सहमति हुन सकेको छैन। सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई प्रस्ताव गरेका छन्।
यस्तै, समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमति नभए आफू निर्वाचनमा होमिने संकेत गरिसकेका छन्। नेताहरूबीच सहमति नजुट्दा आजका लागि तय गरिएको निर्वाचन स्थगित गरिएको हो।
निर्वाचन तालिकाअनुसार आज दिउँसो ३ बजे दरखास्त दर्ता, ३:१० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन, ३:२० बजे दाबी विरोध दर्ता, ३:२५ बजे जाँचबुझ, ३:३० बजे दोस्रो नामावली प्रकाशन, ४:३० बजेसम्म नाम फिर्ता र ४:४० बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको थियो। मतदान साँझ ५ बजेका लागि तय गरिएको थियो भने मतगणना मतदान सम्पन्न भएपछि सुरु गर्ने तालिका थियो।
