दिक्तेलमा ‘जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’को तयारी अन्तिम चरणमा
खोटाङ, २ वैशाख – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ले यही वैशाख ४, ५ र ६ गते आयोजना गर्न लागेको ‘जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन– २०८३’को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालय को प्रांगणमा सञ्चालन हुने सम्मेलनमा नेपालसहित भारत, भुटान, बंगलादेश, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जर्मनीका प्रतिनिधिहरू सहभागी हुनेछन्।
नगरपालिकाको मुख्य आयोजनामा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालय को सहकार्य रहनेछ। नगरप्रमुख तीर्थराज भट्टराई का अनुसार जलवायु परिवर्तनका कारण जैविक विविधता र वन्यजन्तु संकटमा परिरहेका बेला यस्तो सम्मेलनले नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्मेलनका मुख्य एजेन्डा
सम्मेलनमा विभिन्न देशका प्रतिनिधिबाट १० वटा विषयगत कार्यपत्र प्रस्तुत हुनेछन्। जैविक विविधता संरक्षण, लोपोन्मुख वन्यजन्तु संरक्षण, संरक्षित क्षेत्रको प्राथमिकता निर्धारण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिबद्धतासम्बन्धी विषयमा छलफल गरिनेछ। यससँगै विद्यार्थीहरूद्वारा विज्ञान तथा गणित प्रदर्शनी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम तथा रैथाने सीप र प्राकृतिक सामग्रीको प्रदर्शनीसमेत आयोजना गरिनेछ।
रेडपान्डा संरक्षण र पर्यटन प्रवर्द्धन
नगरपालिकाले रेडपान्डा संरक्षणका लागि वडा नं. १० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदी क्षेत्रमा ‘समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम’ सञ्चालन गरिरहेको छ। सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा रहेको मुन्दुम ट्रेल आसपासका जंगलमा रेडपान्डा पाइने भएपछि ‘मुन्दुम ट्रेल–रेडपान्डा–थार रुट’ प्रवर्द्धन गर्ने योजना अघि बढाइएको छ।
उक्त पदमार्ग हलेसी क्षेत्र हुँदै विभिन्न पहाडी भूभाग जोड्दै विकास गरिएको हो, जसले धार्मिक तथा प्राकृतिक पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
स्थानीय विकासमा जोड
१५ वडा रहेको यस नगरपालिकाले स्थानीय रोजगारी सिर्जना गर्न बाँस तथा बाँसजन्य उद्योग प्रवर्द्धन गर्दै आएको छ। यसअघि गरिएको राष्ट्रिय बाँस सम्मेलनको पहलपछि नेपाल सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ।
बाँस स्रोतको संरक्षण, प्रवर्द्धन र प्रयोगमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले नगरपालिकालाई सम्मानसमेत गरेको छ। अन्तर्राष्ट्रिय सम्मेलनको मिति नजिकिँदै जाँदा दिक्तेल बजारमा अतिथिहरूको चहलपहल बढ्दै गएको छ।

