घरजग्गा कारोबार तीन वर्षयताकै उच्च विन्दुमा

काठमाडौँ,  १ वैशाख – नेपाल राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबार तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ। सोमबार सार्वजनिक तथ्याङ्कले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा रियलस्टेट क्षेत्रमा उल्लेख्य वृद्धि भई बजारमा पुनः चहलपहल बढेको देखाएको छ।

राष्ट्र बैंकले गरेको रियलस्टेट कारोबारको अवस्था तथा प्रवृत्तिसम्बन्धी अध्ययनअनुसार पछिल्लो अवधिमा कारोबार करिब १५ अर्ब रुपैयाँसम्म पुगेको छ। अध्ययनले आव २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको जनाएको छ।

घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व भने आव २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्ब पुगेपछि घट्दै २०७९/८० को सोही अवधिमा ८.२ अर्बमा झरेको थियो। पछिल्लो समय पुनः सुधार हुँदै २०८१/८२ मा करिब १५ अर्ब पुगेको तथ्याङ्कले देखाएको छ।

राष्ट्र बैंकले आव २०७९/८० लाई आधार वर्ष मानी रियलस्टेट कारोबारसम्बन्धी तथ्याङ्क त्रैमासिक रूपमा प्रकाशन गर्दै आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागआन्तरिक राजस्व विभागसँगको सहकार्यमा सङ्कलित तथ्याङ्कका आधारमा कारोबारको प्रवृत्ति विश्लेषण गरिएको हो।

अध्ययनमा लिखत पारित अन्तर्गत राजीनामा कारोबारलाई आधार मानी कारोबार सङ्ख्या, मूल्य, क्षेत्रफल, राजस्व सङ्कलन र बैंक कर्जाजस्ता सूचक प्रयोग गरिएको छ। साथै राष्ट्रिय, प्रादेशिक तथा महानगर/उपमहानगर तहसम्म विश्लेषण गरिएको छ।

तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ। पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति रहेको छ। कारोबार सङ्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ।

जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशको हिस्सा उच्च देखिएको छ। अन्य प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट बढी कारोबार हुने भए पनि मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटमा बढी कारोबार भएको छ। घोषित मूल्यका आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ। महानगर र उपमहानगरपालिकामा पाँचदेखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार हुने गरेको तथ्याङ्कले देखाएको छ।

Facebook Comments Box