सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक: कससँग कति?
काठमाडौँ, ३० चैत – सरकार गठन भएको १७ दिनपछि प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश मन्त्रीसँग घरजग्गा, नगद, सुनचाँदी र सेयरमा उल्लेख्य लगानी रहेको देखिएको छ भने केहीले पशुपन्छीसमेत सम्पत्तिका रूपमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग सबैभन्दा बढी नगद मौज्दात रहेको छ । उनले एक करोड ४६ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् । उनकी पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी तथा हिराका गहना रहेको जनाइएको छ । काठमाडौँ, धनुषा र महोत्तरीमा जग्गासमेत रहेको विवरणमा उल्लेख छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग १२ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा रहेको छ । ललितपुर, काभ्रे र बन्दीपुरमा रहेका सम्पत्तिसँगै विभिन्न जलविद्युत् तथा बैंकमा उल्लेख्य सेयर लगानी पनि रहेको विवरणमा देखिन्छ ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन, १० लाख नगद, विभिन्न जिल्लामा जग्गा तथा निजी कम्पनीहरूमा लगानी रहेको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग काठमाडौँमा दुई घर, करिब ७८ लाखभन्दा बढी नगद, सुनचाँदी र सेयर लगानी रहेको छ ।
गृहमन्त्री सुधन गुरुङसँग चार करोडभन्दा बढी मूल्यको सेयर, ८९ तोला सुन, ६ किलो चाँदी र ६१ लाखभन्दा बढी नगद रहेको छ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग रुपन्देही, नवलपरासी र स्याङ्जामा घरजग्गा, ९० लाख नगद तथा सुनचाँदी रहेको छ ।
कानुनमन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा घर, करिब १० लाख नगद, सुनचाँदी तथा सेयर लगानी रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले १८ तोला सुन, १५ तोला चाँदी, १५ लाख नगदसहित २० वटा कुखुरा र एक कुकुरसमेत सम्पत्तिमा उल्लेख गरेकी छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग काठमाडौं र बारामा जग्गा, २४ लाख नगद, २५ तोला सुन र सवारी साधन रहेको छ ।
स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुन, ५० तोला चाँदी, १७ लाख नगद र जग्गा रहेको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलको परिवारको नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा, सेयर लगानी तथा कुल २४ करोडभन्दा बढी सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।
पर्यटनमन्त्री खडकराज पौडेलसँग पोखरामा घरजग्गा, २२ लाख नगद, सेयर लगानी र एक करोडभन्दा बढी ऋण रहेको छ ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले अरुलाई ४७ लाख ऋण दिएको, १० लाख नगद र घरजग्गा रहेको उल्लेख गरेका छन् ।
कृषिमन्त्री गीता चौधरीसँग जग्गा, सानो नगद मौज्दात, सेयर तथा दुई बाख्रा र १० कुखुरा रहेको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवसँग काठमाडौं र महोत्तरीमा घरजग्गा, १८० तोला सुन, ३ करोडभन्दा बढी सेयर र मासिक भाडा आम्दानी रहेको छ ।
श्रममन्त्री रामजी यादवसँग सप्तरीमा व्यापक जग्गा, ८० तोला सुन, १५० तोला चाँदी र ७० लाख नगद रहेको छ ।
सार्वजनिक विवरणले मन्त्रीहरूको सम्पत्ति संरचना विविध रहेको देखाएको छ । कतिपयले परम्परागत सम्पत्ति (घरजग्गा, सुन) बढी राखेका छन् भने कतिपयले आधुनिक लगानी (सेयर, व्यवसाय) मा जोड दिएका छन् ।

