देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २६ चैत –मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि आंशिक बदली रहेको जनाइएको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा तथा मधेस प्रदेश का थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशलगायत हिमाली भूभागमा सामान्य बदली रहने, पहाडी भूभागमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । त्यस्तै, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

