पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
काठमाडौँ, २० चैत – मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रमा बदली देखिएको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भेगमा सामान्य बदली रहनेछ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
त्यसैगरी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
यसका साथै, तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी चट्याङ, हुरी तथा वर्षाका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन र नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।

