प्राकृतिक स्रोतको सदुपयोगका लागि सहज नियम बनाउनुपर्छ : अध्यक्ष हर्क सम्पाङ राई

काठमाडौँ, १९ चैत – श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क सम्पाङ राई ले प्राकृतिक स्रोतसाधनको संरक्षणसँगै यसको प्रभावकारी सदुपयोग गर्न सहज नियम निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो।

अध्यक्ष राईले जनचाहनाअनुसार सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयो। साथै, सार्वभौमसत्ता र स्वाभिमानमा प्रतिकूल असर पार्ने कुनै पनि सन्धि–सम्झौता खारेज गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले सिमाना सुरक्षाका लागि नेपाली सेना परिचालन गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी प्रणालीको व्यवस्था गर्नुपर्ने र त्यसमा आफ्नो पार्टीको समर्थन रहने बताउनुभयो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलन भड्काउने तथा दमन गर्ने दुवै पक्षमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने माग पनि उहाँले गर्नुभयो।

यसका साथै, मुलुकमा सुशासन सुदृढ गर्न राजनीतिककर्मी तथा सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने, “एक पालिका–एक उद्योग” र “एक घर–एक रोजगारी” कार्यक्रम लागू गर्नुपर्ने, बन्द उद्योग पुनः सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

अध्यक्ष राईले वर्तमान सरकारलाई शान्ति–सुरक्षा, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत क्षेत्रमा प्रभावकारी काम गर्न ध्यानाकर्षण गराउनुभयो।

विद्यार्थी सङ्गठन खारेजी, ज्येष्ठ नागरिक भत्ता वितरणका नयाँ मापदण्डलगायत विषयमा पुनर्विचार गर्न सुझाव दिँदै घरबारविहीन नागरिकलाई विस्थापन होइन, व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो।

Facebook Comments Box