नेता रमेश लेखक को बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

काठमाडौँ, १६ चैत – सर्वोच्च अदालत ले नेपाली कांग्रेस का नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मी को इजलासले पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो। आदेशअनुसार सूचना पाएको मितिले तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत जवाफ पेश गर्नुपर्नेछ।

अदालतले आदेशमा भनेको छ, “निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो, त्यसको आधार र कारण खुलाउने तथा पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(६) को पूर्वअवस्था पूरा भएको थियो वा थिएन भन्ने स्पष्ट पार्नुपर्नेछ।”

यसैगरी, अदालतले विपक्षीहरूका नाममा सूचना जारी गर्दै निवेदनको प्रति उपलब्ध गराउन र म्यादभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। साथै, २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनसम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन तथा अनुसन्धानसम्बन्धी सक्कल कागजातसमेत झिकाउन आदेश दिएको छ।

उक्त आयोग गौरीबहादुर कार्की को संयोजकत्वमा गठन गरिएको थियो। नेता लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा उनलाई गत शनिबार पक्राउ गरिएको हो।

Facebook Comments Box