नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौँ, १२ चैत – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ। शपथ समारोहका लागि सबै तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनुहुने कार्यक्रम तय भएको छ। यसअघि रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने समारोहमा ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्। नेपालको संविधानको धारा ९९ र धारा ९१ (उपधारा ५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था गरिएको छ।
सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।
समारोहका लागि हलमा सिट व्यवस्थापन, रोष्टम, सभामुखको आसन तथा सचिवालयका पदाधिकारीका लागि आवश्यक व्यवस्था मिलाइएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा विभिन्न दलहरूले प्रतिनिधिसभामा सिट प्राप्त गरेका छन्, जसअनुसार नयाँ संसद् गठनको प्रक्रिया अघि बढेको छ।

