रेश्मिका परियार हत्या प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग

खोटाङ, १२ चैत – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ। संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गर्दै निष्पक्ष छानबिनको माग गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईका अनुसार घटनामा अनुसन्धान ढिलो भएको भन्दै दोषीलाई शीघ्र कारबाही गर्न आग्रहसहित ज्ञापनपत्र प्राप्त भएको छ। गत भदौ ३० गते साँझ पञ्चमी बजारबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनअन्तर्गत ह्याकुले क्षेत्रमा रेश्मिकाको मृत अवस्थामा शव फेला परेको थियो।

प्रारम्भिक तथ्यहरूले सामूहिक बलात्कारपछि हत्या भएको संकेत गरे पनि हालसम्म आरोपितहरू पक्राउ नपरेको भन्दै पीडित परिवार तथा दलित अधिकारकर्मीहरूले असन्तुष्टि जनाएका छन्। संयुक्त दलित सङ्घर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालका अनुसार घटनामा संलग्न व्यक्तिहरू खुला रूपमा हिँडिरहेकाले पीडित परिवार असुरक्षित महसुस गरिरहेको छ।

त्यस्तै, दलित महिला अभियान नेपालकी केन्द्रीय कोषाध्यक्ष सरस्वती रामदाम विश्वकर्माले घटनाको निष्पक्ष, सूक्ष्म र प्रभावरहित अनुसन्धानका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरिएको बताउनुभयो।

Facebook Comments Box