११ दिनमै फेरि बढ्यो इन्धनको मूल्य, काठमाडौँमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ
काठमाडौँ, १२ चैत – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। पछिल्लो समायोजनको ११ दिनमै निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो। नयाँ दरअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु १८४.५०, दोस्रो वर्गमा रु १८६ र तेस्रो वर्गमा रु १८७ तोकिएको छ। यससँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर रु १८७ पुगेको छ।
त्यसैगरी, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु १६४.५०, दोस्रो वर्गमा रु १६६ र तेस्रो वर्गमा रु १६७ कायम गरिएको छ। निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल डिपो समावेश छन्।
अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेकाले स्वदेशी बजारमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ। निगमका अनुसार मार्च १ देखि २४ तारिखसम्म खरिद गरिएको पेट्रोलको मूल्य प्रतिलिटर रु ७६ र डिजेलको मूल्य रु १४३ ले वृद्धि भएको छ।

