ज्येष्ठ सदस्य केसीद्वारा आज शपथ ग्रहण
काठमाडौँ, ११ चैत – रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ।
निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य निर्वाचित भएका छन्। नेपाली काँग्रेसका नेता केसी समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा प्रवेश गर्नुभएको हो। ज्येष्ठ सदस्यको हैसियतमा केसीले चैत १२ गते हुने कार्यक्रममा प्रतिनिधिसभाका अन्य निर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम पनि तय भएको छ।
Facebook Comments Box

