विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, १० चैत – ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष मार्च २४ मा मनाइने यस दिवसले क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्य राख्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का अनुसार सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने र २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई दिवस भव्य रूपमा मनाउन र जनचेतना फैलाउन आग्रह गरेको छ। नेपालमा क्षयरोग अझै प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। विश्व स्वास्थ्य सङ्गठन का अनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगी फेला परेका छन्।
देशभर ६,२४१ स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध छ भने ७८५ स्थानमा माइक्रोस्कोपी र १४२ स्थानमा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन्। मन्त्रालयका अनुसार औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन्। साथै, १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल’ अभियान विस्तार गरिएको छ।
लगातार तीन हप्ताभन्दा बढी खोकी लाग्ने, खकारमा रगत देखिने, श्वास फेर्न गाह्रो हुने, तौल घट्ने वा अत्यधिक पसिना आउने जस्ता लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरिएको छ। विशेषज्ञहरूका अनुसार कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका, धुमपान वा मद्यपान गर्ने तथा औषधि नियमित रूपमा सेवन नगर्नेमा क्षयरोगको जोखिम बढी हुन्छ। नियमित औषधि सेवनबाट यो रोग निको हुने भएकाले समयमै उपचारमा जोड दिनुपर्ने बताइएको छ।

