पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशभर बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ६ चैत – मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसको प्रभावले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि घना बदली रहेको छ। अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली देखिएको छ भने कोशी प्रदेश र बागमती प्रदेश का पहाडी भू–भागमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा वा हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशका अधिकांश भागमा बदली कायम रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमपात जारी रहने सम्भावना छ।महाशाखाले वर्षा र हिमपात हुने सम्भावित क्षेत्रका सर्वसाधारण, किसान तथा यात्रुहरूलाई सतर्कता अपनाएर दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।

