रास्वपाको लक्ष्य समग्र देशको विकास : सभापति लामिछाने

ललितपुर, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीको मुख्य लक्ष्य समग्र देशको विकास गर्नु रहेको बताउनुभएको छ।

ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सांसदलाई आफ्नो क्षेत्र मात्र नभई समग्र मुलुकको विकासमा केन्द्रित हुन निर्देशन दिनुभयो।

सभापति लामिछानेले जनताले दिएको जिम्मेवारीलाई गम्भीर रूपमा लिन आग्रह गर्दै पारदर्शिता, जवाफदेहिता र जनतासँग सुमधुर सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो। “सांसद निर्वाचित भएपछि जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउनुपर्छ र पाँच वर्ष जनताले आत्मसात् गर्न सक्ने नेतृत्व दिनुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले रास्वपालाई जनताले कानुन निर्माणको जिम्मेवारी दिएको उल्लेख गर्दै सांसदहरूले गम्भीरता र जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने धारणा राख्नुभयो। “पुराना दललाई जनताले ३६ वर्ष पर्खिए, हामीलाई ३६ महिना पनि पर्खिन्नन्,” उहाँले भन्नुभयो, “हामीले आफूलाई होइन, जनता र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ।”

सभापति लामिछानेले सांसदलाई सादगी जीवनशैली अपनाउन, सरकारी अस्पतालमा उपचार गर्न, जनताको जीवनस्तर सुधारमा काम गर्न तथा अनावश्यक विवादास्पद अभिव्यक्ति नदिन आग्रह गर्नुभयो। वैदेशिक सम्बन्धमा असर पर्ने अभिव्यक्ति नदिन पनि उहाँले सचेत गराउनुभयो।

उहाँले ‘राइट टु रिकल’को व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अनुशासन र जिम्मेवारीसहित स्वतन्त्रताको प्रयोग गर्न निर्देशन दिनुभयो।

सभापति लामिछानेले सामाजिक न्याय देशको प्रमुख समस्या रहेको उल्लेख गर्दै त्यसका लागि सक्रिय रूपमा पैरवी गर्नुपर्ने बताए। “सामाजिक न्याय नभएको समाज बस्न लायक हुँदैन, हामी एक पुस्ताबाट अर्को पुस्ताका लागि लडिरहेका छौँ,” उहाँले भन्नुभयो।

उहाँले वर्तमान व्यवस्था र संविधानप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै सुशासनको क्षेत्रमा नयाँ मानक स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। साथै, सांसदलाई संविधान, संसद् नियमावली र पार्टी विधानअनुसार इमानदार रूपमा काम गर्न आग्रह गर्नुभयो।

“नेपाल लगानीका लागि सुरक्षित देश हो भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा दिन चाहन्छौँ,” सभापति लामिछानेले भन्नुभयो।

Facebook Comments Box