हावाहुरीमा दुई जनाको मृत्यु, पाँच घाइते
उदयपुर, ३ चैत – सोमबार साँझ आएको हावाहुरीका कारण कटारी नगरपालिका मा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा कटारी–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय कटारी का अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो। सोही घटनामा रुखले किचेर पाँच जना घाइते भएका छन्।
घाइते हुनेमा ४ वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीलाबहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल कटारी मा उपचार भइरहेको छ।घटनामा घाइते भएकी बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको केदारमान दोङ (प्रहरी नायब उपरीक्षक) ले जानकारी दिनुभयो।
यस्तै, कटारी–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचिएको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेका थिए। घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

