हुरीले दुई घरमा क्षति

भक्तपुर, ३ चैत – सोमबार साँझ आएको हुरीका कारण चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलका दुई घरमा क्षति पुगेको छ। हुरीले रामहरि बस्नेत को एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिम उडाएर घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। उडेको छानो नजिकै रहेको ११ हजार भोल्टेजको थ्रीफेज तारमा अड्किँदा भार थाम्न नसकी ट्रान्सफर्मरका दुईवटा सिमेन्टका खम्बा समेत भाँचिएर ढलेका छन्।

खम्बा ढल्दा नजिकैको सुशीला खड्का को घरमा पनि क्षति पुगेको स्थानीय विकास प्रहरले जनाएको छ। हुरीका कारण अर्को विद्युत् खम्बा समेत ढलेपछि सडक अवरुद्ध भई आवतजावत प्रभावित भएको छ। हुरीबाट दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। घटना लगत्तै नगर विपद् व्यवस्थापन समितिले नगर प्रहरीमार्फत त्रिपालको व्यवस्था गरी प्रभावित घरहरू अस्थायी रूपमा छोपिएको छ।

हुरी रोकिएपछि उपेन्द्र ढकाल, श्याम थापा सहितको टोली, चाँगुनारायण नगर प्रहरी र प्रहरी प्रभाग दुवाकोटको टोलीले उद्धार कार्य गरी घर सुरक्षित राख्ने प्रयास गरेको वडा नं. २ का वडाध्यक्ष सोम प्रधान ले जानकारी दिनुभयो। उहाँका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको छ र पीडित परिवारलाई नगरपालिकामार्फत क्षतिपूर्ति उपलब्ध गराइनेछ।

Facebook Comments Box