ग्यासको अवैध कारोबारबारे जानकारी दिन विभागको आग्रह
काठमाडौँ, ३ चैत – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको सूचना वा जानकारी भए तुरुन्तै ११३७ नम्बरमा निःशुल्क फोन गरेर जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ। अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण देखाउँदै पछिल्ला दिनमा ग्यासमा कालोबजारी, अत्यधिक भण्डारण (लुकाउने) तथा बढी मूल्यमा बिक्री वितरण भइरहेको गुनासो बढेपछि विभागले यस्तो आग्रह गरेको हो।
नेपाल आयल निगम ले आधा सिलिन्डर मात्रै बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा ग्यास अभाव कायमै रहेको जनाइएको छ। विभागले अनुचित व्यापारिक गतिविधि सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।
देशभरबाट सहज रूपमा सूचना लिन सकिने गरी ११३७ नम्बर सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। हाल विभागले देशभर स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ र कैफियत भेटिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिँदै आएको स्पष्ट पारेको छ।
ग्यासको माग उच्च भएको अवस्थामा आपूर्ति सहज बनाउने, कृत्रिम अभाव हटाउने तथा गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले विभाग सक्रिय रहेको छ। साथै ग्यास उत्पादक उद्योग र वितरकलाई कानुनअनुसार व्यापार सञ्चालन गर्न चेतावनी दिइएको छ।
यसैबीच सोमबार मात्रै ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योग लाई रु तीन लाख जरिवाना गरिएको छ। उक्त उद्योगको हरिसिद्धि स्थित गोदाममा लुकाएर राखिएको १४.२ किलोग्राम तौलका ६ हजार ३७७ सिलिन्डर फेला परेको विभागले जनाएको छ।

