पूर्वी नाकाबाट आठ महिनामा ६ हजार ७९१ पर्यटक भित्रिए

झापा, २ चैत – काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा छ हजार ७९१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकडभिट्टा का प्रमुख तुलसी भट्टराई का अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म अमेरिका, बेलायत, भूटानलगायतका मुलुकका पर्यटक उक्त नाका हुँदै नेपाल आएका हुन्।

उहाँका अनुसार साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक नेपाल प्रवेश गरेका छन्। सोही अवधिमा अध्ययनलगायतका विभिन्न कामले विदेशमा रहेका तीन हजार १३३ नेपाली पनि सोही नाका हुँदै स्वदेश फर्किएका छन्।

त्यस्तै, अध्यागमन प्रक्रिया पूरा गरी उक्त नाकाबाट छ हजार ५५२ जना पर्यटक नेपालबाट बाहिरिएका छन् भने एक हजार ८४७ नेपाली विदेश गएका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाका हुँदै आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए।

Facebook Comments Box