अपर ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडियो
म्याग्दी, १ चैत – २२.५ मेगावाट क्षमताको अपर ठूलोखोला जलविद्युत् आयोजना बाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ। रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेड ले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान तथा आन्तरिक परीक्षण पूरा भएपछि विद्युत् केन्द्रीय लाइनमा पठाउन थालिएको हो।
आयोजनाका प्रमुख शिवसागर यादव का अनुसार गत फागुन २९ गते साँझ ६ बजेदेखि परीक्षणका लागि विद्युत् केन्द्रीय लाइनमा पठाउन थालिएको हो। नेपाल विद्युत् प्राधिकरण का प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि विद्युत् प्रणालीमा जोडिएको उहाँले जानकारी दिनुभयो। परीक्षण सफल भएपछि करिब १५ दिनभित्र व्यावसायिक उत्पादन सुरु गरिने जनाइएको छ।
हालको सुक्खायाममा आयोजनाबाट १३.८६ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ। बाँध, विद्युत्गृह, पाइपलाइन, प्रसारण लाइन तथा उपकरण जडानसहितका संरचना निर्माण पूरा भएपछि परीक्षण उत्पादन थालिएको हो।
विसं २०८० मा निर्माण सुरु भएको यो आयोजना दुर्गम भौगोलिक क्षेत्रमा अवस्थित छ। सुगुरथलामा बाँध, पानी थिग्राउने पोखरी (डिसेन्डर), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन तथा ३०० मिटर सर्च–साफ्ट पाइपलाइन जडान गरिएको छ भने फेदी क्षेत्रमा विद्युत्गृह निर्माण गरिएको छ। आयोजनामा दुईवटा टर्बाइन युनिट जडान गरिएको र स्विचयार्ड निर्माण गरिएको इन्जिनियर सञ्जीव न्यौपाने ले जानकारी दिनुभयो।
‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाबाट उत्पादन हुने विद्युत् फेदीदेखि बन्दीसम्म १४ वटा टावरमार्फत छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइनद्वारा जोडिएको छ। त्यसपछि तिल्केनीचौर हुँदै दाना–खुर्कोट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा आबद्ध गरिएको हो। फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी करिब २३.५ किलोमिटर रहेको छ।
करिब पाँच अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंक ले ७० प्रतिशत ऋण लगानी गरेका छन्। कुल लगानीमध्ये १० प्रतिशत प्रवर्द्धकको रहने र २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गरिने योजना छ।
यस क्षेत्रमा यसअघि पनि केही जलविद्युत् आयोजना निर्माण भइसकेका छन्। ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले जलविद्युत् आयोजना तथा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्। साथै, २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना ले गत भदौदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ।त्यस्तै, रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको बताइएको छ।

