मध्यपूर्व तनावबीच दुई भारतीय जहाजले होर्मुज स्ट्रेट पार गरे
काठमाडौँ, १ चैत – होर्मुज स्ट्रेट क्षेत्रमा बढ्दो तनावका बीच भारतका दुई जहाज सफलतापूर्वक उक्त समुद्री मार्ग पार गर्न सफल भएका छन्। भारतको विदेश मन्त्रालय का प्रवक्ता रणधीर जयसवाल ले शनिबार उक्त जानकारी दिनुभएको हो। प्रवक्ता जयसवालका अनुसार ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेका छन्।
ती दुवै जहाजमा करिब ९३ हजार मेट्रिक टनभन्दा बढी तरल पेट्रोलियम ग्यास (एलपीजी) लोड गरिएको छ। उहाँका अनुसार खाडी क्षेत्रमा भारतका अन्य जहाज पनि स्ट्यान्डबाइ अवस्थामा राखिएका छन्। ऊर्जा आपूर्तिको निरन्तरता सुनिश्चित गर्न भारतले सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जनाएको छ।
यसअघि इन्धन बोकेर भारततर्फ आउँदै गरेको एक थाई जहाजमाथि आक्रमण भएको थियो। हालसम्म मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण पाँच भारतीय नागरिकको मृत्यु भएको र एक जना बेपत्ता रहेको बताइएको छ। खाडी क्षेत्रबाट इन्धन आयात प्रभावित हुँदा भारत मा तेल तथा ग्यासको आपूर्तिमा समेत असर परेको छ। भारतबाट इन्धन आयात गर्ने नेपाल मा पनि यसको प्रभाव पर्न थालेको बताइएको छ।

