राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ
काठमाडौँ, २५ फागुन – सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ जनामध्ये १७ सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष Narayan Prasad Dahal ले शपथ गराउनुभएको हो।
शपथ लिने सदस्यहरूमा खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेल रहनुभएको छ।
सदस्य मीनासिंह रखाल भने आजको कार्यक्रममा अनुपस्थित रहनुभएको थियो। संविधानअनुसार ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुने व्यवस्था रहेको छ।

