श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान, २५ फागुन – धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै स्वयं श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा स्थानीय नेतृत्वबाट राष्ट्रिय राजनीतिसम्म पुगेको छ। धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नै चर्चामा रहँदै आउनुभएका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा उहाँ स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो। सामान्य जीवनशैली, स्पष्ट वक्तव्य र विकासका लागि श्रमदान अभियान चलाउने शैलीका कारण उहाँ छोटो समयमै चर्चामा आउनुभएको थियो।

नगर प्रमुख बनेपछि उहाँले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैली अपनाउनुभयो। महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिँदै उहाँ आफैं ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गर्ने कार्यमा सक्रिय रहनुभयो। धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उहाँले महिनौँसम्म स्थानीयसँगै श्रमदान गर्नुभएको थियो।

सामाजिक सञ्जालमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, नागरिक सहभागितामा आधारित विकासलाई प्राथमिकता दिने तथा भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीका कारण उहाँ समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा परिचित हुनुहुन्छ। यद्यपि उहाँको कार्यशैलीलाई लिएर आलोचना पनि हुँदै आएको छ।

राईको सामाजिक र राजनीतिक सक्रियता भने नगर प्रमुख बन्नुअघि नै सुरु भएको थियो। विसं २०६८ तिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उहाँ सक्रिय रूपमा सहभागी हुनुहुन्थ्यो। पछि जनसरोकार मञ्चमार्फत आन्दोलनको नेतृत्व गर्दै धरानको खानेपानी समस्यालाई केन्द्रमा राखेर “पानी दे, पानी दे” भन्ने नारासहित अभियान सञ्चालन गर्नुभयो। खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उहाँ एकपटक पक्राउ परे पनि केही दिनपछि रिहा हुनुभएको थियो।

उहाँले अवैध ढुङ्गा–गिट्टी उत्खननविरुद्ध खोलासम्म पुगेर विरोध गर्नुभएको थियो भने मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा गठन गरिएको संघर्ष समितिमा सहसंयोजकका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो। सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाउँदै आउनुभएका राई यसै कारण स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित हुनुभएको हो।

गीत–संगीतमा पनि रुचि राख्ने राईले केही वर्षअघि ‘मिसिङ हार्ट’ नामक एल्बम सार्वजनिक गर्नुभएको थियो। अहिले पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले उहाँलाई फरक पहिचान दिएको छ। सामाजिक सञ्जालमा उहाँ “हर्क साम्पाङ रिभोलुसन” नामबाट चर्चित हुनुहुन्छ।

नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उहाँले गत माघ ४ गते पदबाट राजीनामा दिँदै श्रम संस्कृति पार्टी गठन गर्नुभएको थियो र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो। सांसदका रूपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागितामा आधारित विकासको अवधारणालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने उहाँको भनाइ छ।

धरानका सडक र खानेपानीका मुहानबाट सुरु भएको उहाँको यात्रा अब संघीय संसद् भवनसम्म पुगेको छ। स्थानीय आन्दोलनबाट उठेको उहाँको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने चासो भने बढ्दै गएको छ।

Facebook Comments Box