नवनिर्वाचित उम्मेदवार तथा समर्थकलाई विजय र्याली नगर्न रास्वपाको आग्रह
काठमाडौँ, २३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट निर्वाचित हुने उम्मेदवार र समर्थकलाई विजय र्याली तथा जुलुस नगर्न आग्रह गरेको छ। रास्वपाका उपसभापति तथा सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक डिपी अर्यालले आज भिडियो सन्देशमार्फत यस्तो आग्रह गर्नुभएको हो। उहाँले विजयी भएपछि अबिर जात्रा गर्ने, खुसी साटासाट गर्ने वा र्याली निकाल्ने चाहना स्वाभाविक भए पनि अहिले त्यस्तो उत्सव मनाउने उपयुक्त समय नभएको बताउनुभयो।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नानीबाबुको पीडा अझै ताजा रहेको उल्लेख गर्दै उहाँले संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर विजय जुलुस नगर्न आग्रह गर्नुभयो। साथै मध्यपूर्व क्षेत्रमा केही समययता भइरहेका घटनाक्रमलाई पनि स्मरण गर्दै संयमित व्यवहार गर्नुपर्ने उहाँको भनाइ छ।
अर्यालले जनताले दिएको जनादेश सरकार गठन गरेर जनताकै हितमा काम गर्नका लागि भएको बताउनुभयो। “जनताले दिएको कार्यादेश अनुसार काम गरेर परिणाम दिन सकेपछि हामी फेरि मतदातासँग घरदैलोमा पुग्नेछौँ,” उहाँले भन्नुभयो। उहाँले समर्थक तथा शुभेच्छुकलाई मतगणना स्थलमै उपस्थित भएर धन्यवाद आदानप्रदान गर्न र संयमित ढङ्गले खुशी व्यक्त गर्न आग्रह गर्नुभएको छ।

