सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल
काठमाडौँ, २३ फागुन – गत भदौमा भएको जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले आफ्नो प्रमुख जिम्मेवारी सफलतापूर्वक पूरा गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभएको छ। सरकारको मुख्य दायित्व समयमै आवधिक निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै उहाँले अब निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो।
जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदी भाग्नु, हातहतियार लुटिनु र राजनीतिक दलप्रति जनविश्वास घट्नु जस्ता चुनौतीपूर्ण परिस्थितिबीच सरकारले निर्वाचन सम्पन्न गराएको उहाँले स्मरण गर्नुभयो। त्यतिबेला सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण रहेको र आमनागरिकमा पनि समयमै निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय रहेको उहाँको भनाइ थियो।
बिहीबार मतदान सम्पन्न भएपछि गृहमन्त्री अर्यालले सरकारले नागरिकप्रति रहेको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताउनुभयो। “सरकारले आफ्नो प्रमुख अभिभारा पूरा गरेको छ,” उहाँले भन्नुभयो।
निर्वाचन सम्पन्न भएपछि शुक्रबार दिनभर मन्त्री अर्यालले बधाई तथा शुभकामनाका फोन र सन्देश प्राप्त गर्नुभयो। मन्त्रालयमै आएर बधाई दिनेहरूको संख्या पनि उल्लेख्य रहेको थियो। उहाँले शुभेच्छुकहरूलाई अब मतपरिणाम आएपछि नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेर फर्किने तयारीमा रहेको बताउनुभयो। “आज जिम्मेवारीको भारी बिसाएर केही हल्का महसुस भएको छ,” उहाँले भन्नुभयो।
गृहमन्त्री अर्यालले यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीप्रति विशेष आभार व्यक्त गर्नुभयो। साथै निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने गृहसचिव, मन्त्रालयका महाशाखा प्रमुख तथा सुरक्षा निकायका उच्च अधिकारीहरूलाई धन्यवाद दिनुभयो। निजामती प्रशासनप्रति प्रायः आलोचना हुने गरे पनि उनीहरूको सहयोगबिना काम सम्पन्न हुन नसक्ने उहाँले बताउनुभयो। “निजामती प्रशासनलाई मात्र दोष दिने प्रवृत्ति सही होइन, नेतृत्व कसरी गरिन्छ भन्ने पनि महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो।
छ महिनाभित्र निर्वाचन सम्पन्न गरेर मुलुकलाई राजनीतिक निकास दिने जिम्मेवारी आफूहरूले पूरा गरेको उहाँले उल्लेख गर्नुभयो। गृहमन्त्रालयलाई प्रायः ‘पावर एक्सरसाइज’ गर्ने मन्त्रालय भनिए पनि आफ्नो अनुभवमा यो शान्ति र स्थिरता कायम गर्ने मन्त्रालयजस्तो लागेको उहाँको भनाइ छ।
परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिन संयमता अपनाउँदै आफूले इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरेको उहाँले बताउनुभयो। राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सबै पक्षको सहयोगका कारण देशभर एकै चरणमा मतदान सम्पन्न भएको उहाँले बताउनुभयो। हाल देशभर मतगणना कार्य जारी रहेको र केही स्थानको नतिजा सार्वजनिक भइसकेको छ।
लोकतान्त्रिक प्रणालीमा निर्वाचन जनादेश प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण संवैधानिक माध्यम भएको उल्लेख गर्दै अर्यालले यस निर्वाचनमार्फत संविधान कार्यान्वयन र नागरिकले प्राप्त गरेका अधिकार संस्थागत गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। साथै स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न मतदाताले देखाएको उत्साहले लोकतन्त्रप्रतिको प्रतिबद्धता झल्किएको उहाँले उल्लेख गर्नुभयो।
निर्वाचनको समयमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई नजिकबाट मूल्याङ्कन गर्दै व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। गृहमन्त्रालयमा निर्देशनमुखी कार्यशैलीभन्दा सामूहिक निर्णय प्रक्रियालाई प्राथमिकता दिइएको पनि उहाँले स्पष्ट पार्नुभयो।
“यहाँ केवल निर्देशन दिने मन्त्री र निर्देशन पालना गर्ने कर्मचारी मात्र होइनन्, सबै मिलेर छलफल गरेर निर्णय गर्ने अभ्यास लागू गरिएको छ,” उहाँले भन्नुभयो। गत पुसमा मधेश क्षेत्रमा देखिएका केही साम्प्रदायिक तनावका घटनाहरू समयमै समाधान गरिएकाले निर्वाचनको वातावरण बिग्रिन नपाएको पनि उहाँले उल्लेख गर्नुभयो।

