निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल
काठमाडौं, १५ फागुन – गृहमन्त्री ओमप्रकाश अर्याल ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराइने बताउनुभएको छ।
दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षण तथा अनुगमनका क्रममा उहाँले विगतका कमजोरीलाई सुधार गर्दै यसपटक धाँधलिरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री अर्यालले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गर्न आवश्यक वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
निरीक्षणपश्चात आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा फैलाइने गलत, मिथ्या तथा भ्रामक सूचनाबाट सचेत रहन सबै सरोकारवालालाई आग्रह गर्नुभयो। साथै आफ्नो–आफ्नो क्षेत्रमा निर्वाचन तयारीलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
आज बिहान गृहमन्त्री अर्याल र निर्वाचन आयोग नेपाल का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले मतदान केन्द्रको अनुगमन गर्नुका साथै निर्वाचन सुरक्षासम्बन्धी छलफल गरेको थियो।
अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेना का बलाधिकृत रथी प्रदीपजंग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलगायत सहभागी थिए।
गृह मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार छलफलमा निर्वाचन सुरक्षा योजना, विगत निर्वाचनका अनुभव तथा संवेदनशील क्षेत्रहरूको अवस्थाबारे समीक्षा गरिएको थियो। विगतमा देखिएका समस्यालाई ध्यानमा राख्दै संवेदनशील नाकाहरूमा सुरक्षा कडाइ गरिएको जानकारी दिइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
प्रमुख निर्वाचन अधिकृत न्यौपानेले सुरक्षा निकायबीच समन्वय भइरहेको र निर्वाचन अवरोध गर्न सक्ने गतिविधिमाथि निगरानी बढाइएको जानकारी दिनुभयो।
बैतेश्वर गाउँपालिकामा आठ मतदानस्थल र २१ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता सङ्ख्या १८ हजार ४२२ रहेको छ। उक्त क्षेत्रमा विगत निर्वाचनमा ९० देखि ९५ प्रतिशतसम्म मत खस्ने गरेको छ।

