निर्वाचनका सात दिन बाँकी : कर्णालीमा ३५९ मतदानस्थल अति संवेदनशील
सुर्खेत, १४ फागुन – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षाको दृष्टिकोणले कर्णाली प्रदेश का ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार प्रदेशका १० जिल्लामध्ये ३५९ मतदानस्थल अति संवेदनशील, ४२२ संवेदनशील र १६० सामान्य अवस्थामा वर्गीकरण गरिएको छ।
प्रदेशभर ९४१ स्थायी र १८ अस्थायी गरी कुल ९५९ मतदानस्थल रहेका छन्। ती स्थलअन्तर्गत एक हजार ४५५ मतदान केन्द्रमध्ये ४४६ अति संवेदनशील, ६९७ संवेदनशील र २८४ सामान्य रहेको जनाइएको छ। कर्णालीमा एउटा मात्र मतदान केन्द्र भएका स्थलको सङ्ख्या ५२५ छ भने दुई केन्द्र भएका ३५३, तीन केन्द्र भएका ४९, चार केन्द्र भएका १२, पाँच केन्द्र भएको एक र छ केन्द्र भएको एक स्थल रहेको छ।
१८ अस्थायी स्थलमा एक/एक मतदान केन्द्र रहेका छन् भने थप ४९६ मतदान केन्द्र स्थापना गरिएका छन्। प्रदेशमा १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। सुर्खेत र दैलेखमा दुई/दुई तथा बाँकी आठ जिल्लामा एक/एक निर्वाचन क्षेत्र रहेको छ। कर्णालीमा कुल मतदाता सङ्ख्या १० लाख तीन हजार ७१८ रहेको छ। प्रदेशमा ५४ गाउँपालिका र २५ नगरपालिका रहेका छन्।

