शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ देखि बाघ गणना सुरु हुने

कञ्चनपुर, १३ फागुन – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मा आगामी फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्जका कर्मचारीसमेत खटिने भएकाले निर्वाचनपछि बाघ गणना गर्ने निर्णय गरिएको हो। फागुन २३ गतेदेखि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिनेछ।

राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स नामकरण गरिएको क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको छ। बाघ विचरण गर्ने सम्भावित क्षेत्रको पहिचान गरी प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिने निकुञ्ज कार्यालयले जनाएको छ।

सन् २०२२ मा सम्पन्न गणनाअनुसार उक्त कम्प्लेक्स क्षेत्रमा ३६ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। क्यामेरामा कैद भएका १६ पोथी र १२ भाले गरी २८ तथा विश्लेषणका आधारमा थप आठ गरी कुल ३६ वयस्क बाघ रहेको उल्लेख गरिएको थियो।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सानो क्षेत्रफल भए पनि बाघका आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको सङ्ख्या वृद्धि भएको संरक्षण अधिकृतहरूले बताएका छन्। निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रति वर्गकिलोमिटर रहेको छ। वन्यजन्तु तथा दुर्लभ वनस्पतिको संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रसिद्ध मानिन्छ।

Facebook Comments Box