निर्वाचन प्रचारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद सजाय हुने
काठमाडौँ, १३ फागुन – फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याएमा कानुनअनुसार जरिवाना तथा कैद सजाय हुने निर्वाचन आयोग ले जनाएको छ। आयोगका अनुसार सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने, पुर्याउन लगाउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार गतिविधिलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। यसक्रममा केही राजनीतिक दल वा उम्मेदवारको चुनावी कार्यक्रमलाई अन्य दल, उम्मेदवार, कार्यकर्ता वा व्यक्तिबाट अवरोध गरिएको भन्ने गुनासो तथा उजुरी प्राप्त भएको आयोगले उल्लेख गरेको छ। यस्ता विषयमा सञ्चारमाध्यमबाट समेत जानकारी प्राप्त भएकाले आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था निर्वाचन आचारसंहितामार्फत स्पष्ट गरिएको छ। आचारसंहिताअनुसार कुनै दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध सिर्जना गर्न पाइँदैन।
यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन अनुसार निर्वाचनको सिलसिलामा कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट रोक्ने उद्देश्यले अवरोध गर्न नपाइने व्यवस्था छ। आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगले स्मरण गराएको छ। साथै, निर्वाचनसम्बन्धी कानुनविपरीत कुनै पनि किसिमको अवरोध नगर्न सम्बन्धित सबै पक्षलाई आयोगले अनुरोध गरेको छ।

