निर्वाचन १० दिन बाँकी : जनप्रतिनिधिलाई प्रचारप्रसारमा सहभागी नहुन आयोगको आग्रह

काठमाडौँ, ११ फागुन – निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्ने उद्देश्यले उक्त आग्रह गरिएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा रहेको उल्लेख गर्दै आचारसंहिताको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षबाट आचारसंहिताको पालनाबारे अनुगमन भइरहेको जनाएको छ ।  केही स्थानीय जनप्रतिनिधि आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको सम्बन्धमा उजुरी प्राप्त भएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ ।

आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित दलको प्रचारप्रसारमा संलग्न हुन सक्ने भए पनि सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ । साथै, आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।

Facebook Comments Box