आज प्रजातन्त्र दिवस,देशभर विविध कार्यक्रमसहित मनाइँदै
काठमाडौँ, ७ फागुन – देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ। सरकारी तथा स्वेच्छिक रूपमा देशैभर कार्यक्रम गरी दिवस मनाउने तयारी गरिएको छ। दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। वि.सं. २००७ सालको क्रान्ति सफल भई १०४ वर्ष लामो राणाशासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाउने गरिएको हो।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनको सुरुआत भएको थियो। प्रजातन्त्रको आधारमा मुलुकमा लोकतन्त्र हुँदै हाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र सार्वभौमसत्ता जनतामा निहित रहनुपर्छ भन्ने मान्यतालाई जनआन्दोलन र शहीदहरूको बलिदानबाट स्थापित गरिएको ऐतिहासिक दिनका रूपमा फागुन ७ लाई स्मरण गरिन्छ। दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिएका छन्।

