निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं, २ फागुन – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएकोमा आज थप तीन जिल्लाको मतपत्र छपाइ पूरा भएको हो।

अब ११ जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको आयोगले जनाएको छ। तीमध्ये अधिकांश काठमाडौँ उपत्यका आसपासका जिल्ला रहेका छन्। आगामी दुई दिनभित्र सबै मतपत्र छपाइ सम्पन्न हुने अनुमान गरिएको छ।

छापिएका जिल्लाका मतपत्र प्याकिङसमेत सम्पन्न भइसकेको छ। हालसम्म १६ हजार ४९४ बाकस मतपत्र प्याकिङ भइसकेको छ। आयोगका अनुसार दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत मतपत्र छपाइ कार्य गत पुस २२ गतेदेखि सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेदेखि सुरु भई माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। यस्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेमा माघ १६ गतेदेखि छपाइ कार्य जारी रहेको छ।

यसैबीच, आयोगले आजदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सुरु गरेको जनाएको छ। सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र पठाउन सुरु गरिएको सहायक प्रवक्ताले जानकारी दिनुभयो।

Facebook Comments Box