बाँके क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्रमुख चुनावी मुद्दा
बाँके, २२ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्रमुख चुनावी मुद्दाका रूपमा उभिएको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिका समेटिएको यस क्षेत्रमा पछिल्ला वर्षहरूमा बाघ, चितुवा लगायतका वन्यजन्तुको गतिविधि बढ्दै गएपछि जनजीवन असुरक्षित बन्दै गएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र राष्ट्रिय वन आसपासका बस्तीमा वन्यजन्तु पस्ने, मानिस तथा चौपायामाथि आक्रमण हुने र खेतीबाली नष्ट हुने घटनाहरू बढिरहेका छन् । यसका कारण मानव–वन्यजन्तु द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने स्पष्ट र कार्यान्वयनयोग्य योजना ल्याउने उम्मेदवारलाई मात्र मत दिने स्थानीयको भनाइ छ ।
राप्तीसोनारी गाउँपालिका–९ का स्थानीय हेम चापागाईंले वन्यजन्तुको आक्रमणबाट मानिसको ज्यान जाने र खेतीबालीमा क्षति बढेकाले यो क्षेत्रको मुख्य समस्या बनेको बताउनुभयो । “मानव र वन्यजन्तु दुवैको सुरक्षाका लागि दीर्घकालीन समाधान आवश्यक छ,” उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्षको पछिल्लो छ महिनामै राप्तीसोनारी गाउँपालिकाका दुई जनाको बाघको आक्रमणबाट ज्यान गएको छ । साथै गोठमा बाँधिएका तथा चराउन लगिएका चौपायामाथि पनि निरन्तर आक्रमण भइरहेको राप्तीसोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्ज मध्यवर्ती क्षेत्रमा तारबारसहितको प्रभावकारी वन्यजन्तु व्यवस्थापन अत्यावश्यक भइसकेको छ ।
यस क्षेत्रबाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताउनुभयो । २०७९ को निर्वाचनमा विजयी भइसकेका ढकालले यसअघि निकुञ्ज क्षेत्रमा तारबार गर्ने योजना अघि बढाएको र यो विषय पटक–पटक संसद्मा उठाएको उल्लेख गर्नुभयो ।
“जनताको जीवन सुरक्षाभन्दा ठूलो विषय केही हुँदैन,” ढकालले भन्नुभयो, “आगामी कार्यकालमा पनि वन्यजन्तु व्यवस्थापन मेरो प्राथमिकता हुनेछ।” नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार नारायण गौडेलले पनि मानव–वन्यजन्तु द्वन्द्व समाधानलाई प्रमुख चुनावी मुद्दा बनाएको बताउनुभयो । उहाँले सरोकारवाला निकायसँग समन्वय गरी जनतालाई सुरक्षित जीवनयापनको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उम्मेदवारी मनोनयनपछि क्षेत्र नं १ का उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय छन् । उम्मेदवारहरूले मतदातासामु आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् भने सत्तामा रहेका दलका उम्मेदवारहरूले विगतका विकास निर्माणका काम देखाउँदै मत मागिरहेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका सूर्य ढकाल २५ हजार २६ मतसहित विजयी भएका थिए । उहाँका निकटतम प्रतिस्पर्धी तत्कालीन नेकपा (माओवादी केन्द्र) का महेश्वर गहतराजले १९ हजार ६३२ मत प्राप्त गरेका थिए । यसपटक कांग्रेसले जिल्ला सभापति गौडेललाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ ।
यस क्षेत्रबाट नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा, प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन यस निर्वाचनमा निर्णायक मुद्दा बन्ने देखिएको छ ।

