भारतको मेघालयस्थित कोइलाखानी विस्फोटमा खोटाङका दुई दाजुभाइको मृत्यु, चार गम्भीर घाइते
खोटाङ, २३ माघ – भारतको मेघालय राज्यमा रहेको कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका दुई युवाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मेघालयको उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक पूर्णबहादुर र सुरेन्द्र बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा तथा दाजुभाइ रहेको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनामा सोही ठाउँका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर गम्भीर घाइते भएका छन् ।
रोजगारीका लागि मेघालय पुगेका सात जनाको समूहमा बराहपोखरी–१ वालम्पाका ताराबल मगर भने सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबल मगरले नै फोनमार्फत घटनाबारे जानकारी गराउनुभएको हो ।
घाइते चारै जनाको अवस्था गम्भीर रहेको बताउँदै ताराबल मगरले शवको जिम्मेवारी लिने र उद्धार समन्वयमा समस्या भइरहेको गुनासो गर्नुभयो । “यहाँ चिनेजानेका कोही छैनन्, शव कुरेर बसेको छु । घाइतेलाई अस्पताल पुर्याइएको छ, उनीहरूको अवस्था पनि चिन्ताजनक छ”, उहाँले भन्नुभयो ।
मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते मेघालय गएको स्थानीयले जानकारी दिएका छन् । मृतक दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको जनाइएको छ ।
वैदेशिक रोजगारीको क्रममा डेढ महिना नपुग्दै भएको दुर्घटनाले परिवारमा शोक र चिन्ता छाएको छ । खोटाङका विभिन्न स्थानका युवाहरू रोजगारीका लागि विशेष गरी जाडोयाममा मेघालय जाने गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति रु दुई लाख र घाइतेलाई रु ५० हजारका दरले उपचार खर्च उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

