निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण

काठमाडौँ, २० माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सम्भावित जोखिमबारे सचेत रहँदै नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै तयारी गरिएको स्पष्ट पारेको छ। छिमेकी मुलुकमा देखिएका केही घटनालाई ध्यानमा राख्दै पूर्वतयारीका कदम चालिएकाले सर्वसाधारणलाई आतङ्कित नहुन, तर सचेत र जिम्मेवार बन्न मन्त्रालयले आग्रह गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि मन्त्रालयले सावधानी अपनाइएको जनाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत देशभरका स्वास्थ्य संस्थालाई सतर्क गराइएको र परीक्षणका लागि आवश्यक तयारी गरिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार निपाह भाइरस सङ्क्रमित चमेराको ¥याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा, सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कबाट, साथै चमेरोबाट सुँगुर हुँदै मानिसमा सर्न सक्ने जोखिम रहन्छ। सावधानीस्वरूप फलफूल राम्ररी पखालेर खान, तरकारी राम्रोसँग पकाएर खाने, उमालेको पानी मात्र पिउने, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने र भिडभाडमा मास्क लगाउन मन्त्रालयले अनुरोध गरेको छ।

ज्वरो, टाउको तथा मांसपेशी दुख्ने, खोकी, सास फेर्न गाह्रो हुने, वाकवाकी, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउनेजस्ता लक्षण देखिएमा शीघ्र पहिचान गरी आइसोलेसनमा राखेर रिपोर्टिङ गर्नुपर्ने मन्त्रालयले जनाएको छ। शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसको कुनै घटना पुष्टि नभएको स्पष्ट पारेको छ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदारसँग समन्वय गर्दै अवस्था निरन्तर अनुगमन भइरहेको जनाउँदै मन्त्रालयले अफवाहमा नपर्न र आधिकारिक सूचनामात्र विश्वास गर्न सबैलाई अनुरोध गरेको छ।

Facebook Comments Box