४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

म्याग्दी, १३ माघ – सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि पिठ्युँमा भाँडाको भारी बोकेर म्याग्दीका गाउँ–गाउँ पुग्दै व्यापार गर्दै आउनुभएको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ निवासी तामाङसहित अन्य तीन जना व्यापारीले ४५ वर्षदेखि घुमन्ते जीवन बिताउँदै पुराना भाँडासँग साट्ने र नयाँ भाँडा बिक्री गर्ने पेसा अँगाल्दै आएका हुन्।

तामाङसँगै धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि डोकाभरि भाँडा बोकेर म्याग्दीको सदरमुकाम बेनीसहित जिल्लाका छवटै स्थानीय तहका बस्तीमा पुग्ने गरेको गुरुङले बताउनुभयो। उहाँहरूले पर्वतको अर्मादी क्षेत्रमा भाँडा भण्डारण गरेर राख्ने गर्नुभएको छ।

गाउँमा श्रीमती र तीन छोरा भएका तामाङलाई पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार सुरु गरे भन्ने यकीन छैन। तर बाबुबाजेको पालादेखि यही पेसा गर्दै आएकाले आफूले पनि निरन्तरता दिएको उहाँ बताउनुहुन्छ। १४ वर्षको उमेरमा बाबुसँगै भाँडा बोकेर व्यापारमा निस्कनुभएका तामाङ आजसम्म पनि यही पेसामै सक्रिय हुनुहुन्छ।

विसु गुरुङ मङ्सिरको अन्तिम साता धादिङबाट पर्वतको अर्मादी आइपुग्नुभएको थियो। उहाँका अनुसार चैतको पहिलो सातासम्म यस क्षेत्रमा व्यापार गरेर पुनः गाउँ फर्किने र अर्को स्थानतर्फ लाग्ने योजना बनाइन्छ।

डोकोमा नयाँ भाँडा बोकेर गाउँ–गाउँ पुग्ने, कसैलाई बेच्ने त कसैसँग पुराना भाँडासँग साट्ने काम उनीहरूको पुस्तौंदेखिको पेसा हो। “नयाँ र पुरानो भाँडाको मूल्य तोकेर बराबर भए साटफेर गर्छौँ। नयाँको मूल्य बढी भए ग्राहकबाट केही रकम लिन्छौँ, पुरानोको बढी भए हामीले थप दिन्छौँ,” तामाङले भन्नुभयो।

तर पछिल्ला वर्षहरूमा व्यापार पहिले जस्तो नरहेको गुरुङको अनुभव छ। वर्षमा एकपटक पर्वत, बागलुङ र म्याग्दी क्षेत्रमा व्यापारका लागि आउने बताउँदै उहाँले सबै खर्च कटाएर मासिक रु २० देखि २५ हजारसम्म मात्र बचत हुने जानकारी दिनुभयो।

आधुनिक प्रविधि र सडक यातायातको विकाससँगै ग्रामीण क्षेत्रका बासिन्दा आफैँ बजार पुगेर नयाँ भाँडा किन्न थालेपछि घुमन्ते व्यापारीको आवश्यकता घट्दै गएको छ। केही वर्षअघि गाउँ–गाउँमा पुराना भाँडा साटफेर गर्ने व्यापारी सामान्य दृश्य भए पनि अहिले डोकोमा भाँडा बोकेर हिँड्नेहरू बिरलै देखिन्छन्।

Facebook Comments Box