‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत सम्पन्न
मोरङ, १३ माघ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ।
आइतबारदेखि झापाको पाडाजुंगीबाट पश्चिमतर्फ पहिलो चरणको एक लेन कालोपत्र सुरु गरिएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो। उहाँका अनुसार निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत भौतिक प्रगति भएको छ।
एसियन राजमार्ग नम्बर–२ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्म १२० किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य रहे पनि हाल ९५.७६ किलोमिटर सडकमा मात्र ठेक्का लागेर निर्माण कार्य भइरहेको छ। सडक निर्माण पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरेर अघि बढाइएको छ।
हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सम्पन्न भएको छ। आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
निर्माण सामग्री सहज रूपमा उपलब्ध भएमा कामले थप तीव्रता पाउने पन्तले बताउनुभयो। उहाँका अनुसार पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सम्पन्न भएको छ भने पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम सकिएको छ। बजार क्षेत्रका खम्बा सार्न अझै बाँकी रहेको आयोजनाले जनाएको छ। यस्तै, पूर्वी खण्डमा ठूला पुल निर्माणमा २३ प्रतिशत र पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ।
एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकरभिट्टा प्रवेश गरी पूर्व–पश्चिम राजमार्गमार्फत भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ। एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सडक निर्माण सुरु गरिएको हो।
यस आयोजनाको अनुमानित लागत ३० करोड अमेरिकी डलर रहेको छ। सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र गरी तीन वर्गमा निर्माण गरिनेछ। बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण गरिने योजना छ।

