प्रतिनिधिसभा सदस्य निर्वाचनः बेलुकी ६ बजेसम्म २,९२५ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ, ६ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ बजेसम्म २,९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तापछि आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आयोगको प्रणालीअनुसार ३३६ महिला र २,५८९ पुरुष उम्मेदवार रहेको जानकारी दिनुभयो । कतिपय निर्वाचन क्षेत्रमा रुजु प्रक्रिया जारी रहेकाले यो सङ्ख्या केही बढ्न सक्ने उहाँले बताउनुभयो ।

कम उम्मेदवारी दर्ता भएको मुस्ताङमा चार जना र मनाङमा पाँच जनाले उम्मेदवारी दिएका छन् । यी दुवै जिल्लामा रुजु कार्य सम्पन्न भइसकेको जनाइएको छ । सबैभन्दा बढी उम्मेदवारी रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५–३५ जनाको दर्ता भएको छ । रुपन्देही–२ को रुजु सम्पन्न भइसकेको छ भने रुपन्देही–३ को बाँकी छ ।

निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार उम्मेदवारी दर्ता प्रक्रिया सामान्यतया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको थियो । आयोगले उम्मेदवारलाई नागरिकता वा मतदाता परिचयपत्रसहित १३ प्रकारका कागजात लिएर आउन आह्वान गरेको थियो ।

आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

Facebook Comments Box