प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौँ, ५ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ताको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा आवश्यक तयारी सम्पन्न भइसकेको छ । साथै, सबै १६५ निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ कि छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

यसपटक आयोगले आचारसंहितामै उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ । उक्त विवरण सिलबन्दी खाममा बुझाउनुपर्नेछ । साथै, उम्मेदवारले आचारसंहिता पालना गर्ने, कानुनले अयोग्य ठहराएमा उम्मेदवारी रद्द भए पनि स्वीकार गर्ने तथा निर्वाचनसम्बन्धी सबै कानुनी व्यवस्थाको पालना गर्ने स्वघोषणामा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।

उम्मेदवारीसँगै १३ प्रकारका कागजात अनिवार्य

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने आयोगले जनाएको छ । यसमा नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, सरकारी वा सरकारी स्वामित्व/नियन्त्रणमा रहेको संस्थामा बहाल रहेमा पदबाट राजीनामा दिएको निस्सा समावेश छन् ।

प्रतिनिधि मार्फत मनोनयन दर्ता गर्ने भए सम्बन्धित निर्देशिकाअनुसारको प्रतिनिधि नियुक्ति फारम अनिवार्य हुनेछ । साथै, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहितको मनोनयनपत्र पेस गर्नुपर्नेछ ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको निकायबाट जारी गरिएको औपचारिक मनोनयन पत्र पनि आवश्यक पर्नेछ । संयुक्त रूपमा निर्वाचनमा सहभागी दलका उम्मेदवारका लागि सम्बन्धित निर्देशिकाअनुसारको पत्र संलग्न गर्नुपर्नेछ ।

निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी बुझाएको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ । महिला, दलित, अल्पसङ्ख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई धरौटी रकममा ५० प्रतिशत छुट दिइनेछ । विपन्न उम्मेदवारका हकमा स्थानीय तहको सिफारिस पत्र आवश्यक हुनेछ ।

उम्मेदवारले आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋण र अन्य आर्थिक विवरण सिलबन्दी गरी पेस गर्नुपर्नेछ ।

साथै, वैयक्तिक विवरण फारम, कुनै पेस्की लिएर फर्छ्यौट गरेको निस्सा, लेखापरीक्षणबाट किटानीसाथ असुलउपर गर्नुपर्ने बेरुजु भए फर्छ्यौट गरेको प्रमाण र निर्वाचन आचारसंहिता अनुसारको प्रतिबद्धता पत्र पनि अनिवार्य हुने आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रम

मङ्गलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म देशभरका १६५ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्रमाथि उजुरी दिने समय तोकिएको छ । त्यसपछि माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरिनेछ र सोही दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

Facebook Comments Box