खत्वेको लोभलाग्दो कृषि कर्म

सुनसरी, ४ माघ – नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वेले वैदेशिक रोजगारीको सोच त्यागेर स्वदेशमै कृषि व्यवसाय रोज्नुभएको छ । विसं २०७५ मा स्थापना गर्नुभएको खत्वे कृषि फार्म हाल उहाँ र उहाँको परिवारको मुख्य जीविकोपार्जनको आधार बनेको छ ।

प्रहरी सेवाकै क्रममा छ महिना शान्ति सेनामा समेत काम गर्नुभएका खत्वेले अवकाशपछि नेपालमै केही गर्ने अठोटका साथ कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गर्नुभएको हो । फार्म सञ्चालनसँगै उहाँले केही वर्ष यातायात व्यवसायसमेत गर्नुभएको थियो । स्कारपियो गाडी खरिद गरी करिब पाँच वर्ष आफैँ चलाउनुभएका खत्वेले पछि उक्त गाडी बिक्री गरे पनि कृषि फार्मलाई निरन्तर अघि बढाइरहनुभएको बताउनुभयो ।

हाल उहाँले साढे तीन बिघा क्षेत्रफलमा फैलिएको कृषि फार्म सञ्चालन गरिरहनुभएको छ । फार्मभित्र पाँचवटा माछापोखरी छन्, जहाँ रौ, कमन, भ्याकुर, सिल्भर र ग्रास कार्पलगायत प्रजातिका माछापालन भइरहेको छ । “माछा बिक्रीका लागि बजार धाउनु पर्दैन,” खत्वेले भन्नुभयो, “व्यापारीहरू आफैँ पोखरीमै आएर माछा निकालेर लैजान्छन् ।”

हाल माछा प्रतिकिलो तीन सयदेखि तीन सय ५० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । सानो लगानीबाट सुरु गरिएको फार्मबाट वार्षिक सबै खर्च कटाएर छदेखि सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । फार्ममार्फत एक जनालाई रोजगारीसमेत दिइएको छ ।

फार्म निकुञ्ज क्षेत्र नजिकै रहेकाले फिस क्याट, गोही, स्याललगायत वन्यजन्तुले माछा खाइदिने समस्या भने यथावत् छ । “केही क्षति त हुन्छ,” उहाँले भन्नुभयो, “तर समग्रमा फार्म नाफामै छ । यही आम्दानीले घरखर्च चलाउन, परिवार पाल्न र छोराछोरी पढाउन पुगेको छ ।”

माछापालनसँगै खत्वेले फार्ममा लोकल कुखुरा, हाँस, परेवा, गाई र भैँसीसमेत पाल्दै आउनुभएको छ । माछाको भुरा कोसी गाउँपालिकाका स्थानीय बजारबाट खरिद गरिने गरेको उहाँले जानकारी दिनुभयो । हाल भुरा प्रतिकिलो चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्ने गरेको छ ।

खत्वे कृषि फार्ममा उत्पादन भएको माछा कोसी प्रदेशका प्रायः सबै जिल्लामा बिक्री हुँदै आएको छ । सुनसरी कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा बोरिङ र मोटर अनुदान उपलब्ध गराएकाले फार्म सञ्चालनमा थप सहजता पुगेको उहाँले बताउनुभयो ।

पछिल्लो समय युवा ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका बेला खत्वेको अनुभव फरक छ । “अवकाशपछि विदेश जाने सोच कहिल्यै आएन,” उहाँले भन्नुभयो, “नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो । त्यसैले कृषि व्यवसाय सुरु गरेँ ।”

उहाँका अनुसार स्थानीय सरकार र राज्यले किसानलाई नियमित अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन सके युवालाई विदेश पलायन हुनुपर्ने बाध्यता रहँदैन । “नेपालमै अवसर र रोजगारी दुवै सम्भव छन्,” खत्वेले जोड दिनुभयो ।

Facebook Comments Box